राजनीति

कार्यकर्तालाई स्वयंसेवकको भुमीका निर्वाह गर्न नेकपा सिन्धुलीको निर्देशन

सिन्धुली, १५ चैत्र / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले आज निर्देशन जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ । विश्वलाई नै आक्रान्त बनाई रहेको कोरोना भाइरसबाट हाल विश्व त्रस्त बनिरहेको भन्दै यसबाट बच्न बिशेष सावधानी अप्नाउन आग्रह गरेको हो ।

जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन), सचिव प्रदिप कटुवाल द्धारा जारि गरिएको निर्देशनमा कोरोनाबाट बच्न हाम्रा सवै संयन्त्रहरुलाई कुशलतापूर्व परिचालन गर्न आवश्यक देखिएको उल्लेख गरिएको छ । हालसम्म नेपालमा पनि कोरोना भाइरस पोजेटिभ देखिसकिएकोले अब हामीले विशेष सावधानी अपनाउन सकेनौं भने यो स्थिति झन भयावह हुने सम्भावना छ । यस विषम परिस्थितिमा नेपालमा यसको फैलावट नबडोस र असहज परिस्थिति सिर्जना नहोस भनेर नेपाल सरकारले विगत पाँचदिन देखी पुरै देश लकडाउन गरेको कुरा सवैमा जानकारी भएको उल्लेख गरिएको छ ।

निर्देशनमा भनिएको छ ‘सवै स्थानीय सरकारले हाम्रो पार्टी केन्द्र तथा संघीय सरकारको निर्देशन बमोजिम क्वारेन्टाइन र आइसुलेसन कक्षहरुको व्यवस्थापन गरिरहेको बिषय प्रसंसनिय छ ।’ अप¥र्याप्त स्रोत र उपकरणको प्रयोग बाटै जनताको स्वास्थ्य सुरक्षाका लागि नेपाली चिकित्सक र सुरक्षाकर्मीहरु खटिरहेको भन्दै नेकपा सिन्धुलीले प्रशंसा गरेको छ ।

नेकपा सिन्धुलीले निर्देशन जारी गर्दै सरकारले गरेको लकडाउनको उलङघन नगरी कोरोना भाइरसबाट बच्न भिडभाडमा नजाने, नियमीत सावुन पानीले हात धुने, घरमा नै बस्ने, बाहिर जानुपरेमा मास्क र स्यानीटाइजरको प्रयोग गर्ने कुरामा जनतालाई सचेत गराउने कार्यमा सबै नेता तथा कार्यकर्ताहरुलाई सक्रियताको लागि निर्देशन समेत दिएको छ ।

साथै बाहिरबाट आएका ब्यक्तिहरुको निगरानी गर्दै रेर्कड राखी क्वारेन्टाइनमा १५ दिनसम्म बस्ने वातावरण बनाई स्वयंसेवकको भुमीका निर्वाह गर्न पनि नेता कार्यकर्तालाई उस्ले निर्देशन दिएको छ ।

क्वारेन्टाइनमा बसेको अवस्थामा १०४ डिग्री भन्दा बढी ज्वरो आएमा, रुघाखोकी लाग्यो, घाटी दुख्यो वा शरिर गल्ने जस्ता लक्षण देखीए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पठाउन अनुरोध गर्दै राष्ट्रमा सृजना भएको यस कठिन अवस्थामा सबै भन्दा बढी मारमा दैनिक श्रमगरी जीवन निर्वाह गर्ने समुदाय परेको र तिनको उचित छानविन गरी यथोचित राहतको व्यवस्था गर्न सबै तहका सरकारलाई समेत अनुरोध गरेको छ ।

जारी निर्देशनमा दैनीक कामको सिलसिलामा कुनै जटिल समस्या आइपरेमा जिल्ला प्रशासन कार्यालय सिन्धुली तथा नेकपा जिल्ला पार्टी कार्यालयमा समन्वय गरी काम गर्न सबैमा अनुरोध गरिएको छ ।

Comment here