बागमतिसमाचार

सिन्धुलीमा पहिलो होमस्टे सञ्चालन

२०७६
सिन्धुली, २१ माघ / सिन्धुली जिल्लामा आजबाट पहिलो होम स्टे सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका २ को ढुङग्रेभञ्ज्याङ्गमा भद्रकाली सामुदायिक होम स्टे सञ्चालनमा आएको हो ।

कमलामाई नगरपालिका, सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुली, कन्दमुल तरकारी विकास केन्द्र सिन्धुली, कृषि ज्ञानकेन्द्र सिन्धुलीको प्रबद्र्धन तथा श्री सिन्धुलीको सहजीकरणमा होम स्टे सञ्चालनमा आएको हो ।

भद्रकालीमा होम स्टे सञ्चालन गर्न २०७६ साल जेठ देखी सम्भाव्यता अध्ययन, स्थानीय समुदायको चाहाना लगाएतको सर्वेक्षण गर्दै होम स्टे सञ्चालन गर्न सुरु गरिएको थियो ।

बागमति प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रम अन्र्तगत २० लाख, कमलामाई नगरपालिकाको शौचालय निर्माण तथा सरसफाईका लागि ५ लाखको लागतमा १२ घरबाट होम स्टे सुरु गरिएको श्री सिन्धुलीका कार्यक्रम संयोजक बेदराज दाहालले जानकारी दिनुभयो ।

उक्त होम स्टेको मेयर खड्ग बहादुर खत्रीले उद्घाटन गरि होम स्टेको सुभारम्भ गर्नु भएको हो । होम स्टेको उद्घाटन पछि मेयर खत्रीले नेपल सरकारले सुरु गरेको भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै यस क्षेत्रमा सामुदायिक होम स्टे स्थापना गरेको बताउनुभयो ।

ऐतिहासिक स्थल सिन्धुलीगढीको काखमा रहेको भद्रकालीमा होम स्टेबाट पर्यटकलाई खान, बस्नको सुविधा संगै यस क्षेत्रका समुदायको स्तर उकास्न समेत सहयोग पुग्ने उहाँको अपेक्षा रहेको छ । उहाँले भन्नुभयो ‘कमलामाई नगरपालिकामा आउने बिशिष्ठ पाहुनाहरुलाई पहिलो पटक यस होम स्टेमा बास राख्न ल्याउन सहयोग गर्नेछ र त्यस पछि उक्त पाहुनालाई फेरी पनि आउने वातावरण तपाई सञ्चालकहरुले गर्नु पर्दछ ।’ यस संगसंगै जिल्लाका अन्य साझेदार निकायहरुले समेत होम स्टेको सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले प्रभावकारि र लगनशिलताका साथ होम स्टे सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

१७ घरले होम स्टे सञ्चालन गर्ने तयारी गरि रहेको भए पनि अहिले १२ घर बाट सुरु गरिएको र अरु विस्तारै थपिदै जाने उहाँको भनाई रहेको छ । अहिले उक्त होम स्टेमा ४० देखी ५० जना सम्मले बास बस्न सक्ने छन् ।

Comment here